सम्मुन्नति : स्वर्णिम वाग्लेको कार्यालयद्वारा प्रकाशित

नमस्कार, 

नयाँ वर्ष २०२४ को प्रारम्भसँगै यो न्युजलेटर प्रकाशन गर्न सकिएकोमा अत्यन्त खुशी छु । नेपालको पछिल्लो विकासक्रम, देश विदेशका अर्थ-राजनीति एवं दिगो उन्नतिको हाम्रो साझा दृष्टिबारे विश्वभरि रहेका शुभचिन्तकहरूलाई सूचित गराउनु यस न्युजलेटरको उद्देश्य हो । तपाईंहरु कतिपयले सामाजिक सञ्जालमा मेरा अपडेटहरु त देख्नुहुन्छ, तर त्यहाँका सामग्री छरपस्ट हुन सक्छन् । उपयोगी सामग्रीलाई सुव्यवस्थित गर्न यस न्युजलेटरमा एक सारांश पेश गर्नेछु, र थप जानकारी चाहनुहुनेहरुको निम्ति सहज लिंकहरु राख्नेछु । यस यात्रामा जोडिन हुन म तपाईंहरु सबैलाई आमन्त्रित गर्दछु l 

यो न्युजलेटरबाट तपाईं के अपेक्षा गर्न सक्नुहुन्छ ?

  • मेरो स्वाभाविक शैलीमा लेखिएका सटीक पोष्टहरू

  • प्रविधि, विधान निर्माण, गैर आवासीय नेपाली (एनआरएन) का मुद्दा तथा नेपाल र नेपाली डायस्पोरालाई असर गर्ने विषय लगायत अर्थव्यवस्था र राजनीति बारे मेरा विचार

  • क्षेत्रीय र विश्वव्यापी घटनाहरू र मेगा (विशाल) ट्रेन्डहरु बारे विश्लेषण

  • आवधिक पुस्तक समीक्षा र टिप्पणी, तथा नेपालमा चाख हुनेका लागि रोचक सामग्री

  • मेरा विविध यात्राबाट सिकेका कुराहरु

मेरा विभिन्न संलग्नताको समीक्षा गर्न र मलाई रुचि भएका विषयहरूमा विचार व्यक्त गर्न यो न्युजलेटर एक मञ्च हुनेछ । सुरुमा म महिनामा एक पटक लेख्नेछु, तर बिस्तारै यसमा वृद्धि हुनेछ । न्युजलेटर सब्सक्राइब गर्नुहुनेहरुका लागि विशेष सामग्री प्रस्तुत गर्ने मेरो योजना छ । 

मूल आस्था र विश्वास  

यस पहिलो अंकमा प्रगति बारे मेरो मूल दृष्टिकोण तपाईंहरु सामु प्रस्तुत गर्न चाहन्छु । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति र सांसदको रूपमा सो पार्टीको दृष्टिकोण बनाउन पनि मैले सहयोगी भूमिका निभाईरहेको छु । सामाजिक न्यायसहितको उदार अर्थतन्त्र भित्र सम्पूर्ण नेपालीको समतामूलक प्रगति हाम्रो सामूहिक लक्ष्य हो ।

मेरो प्रयास विधिको शासनमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र भित्र मौलिक अधिकारहरू सुनिश्चित गर्ने समावेशी समाज निर्माण गर्नु हो । राष्ट्रिय आय वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, सामाजिक पुँजी बढाउने र जलवायु परिवर्तन लगायत पर्यावरणीय आवश्यकताहरूलाई सन्तुलनमा राख्ने स्वच्छ, बलियो नियामक संरचना भित्र फस्टाउँदो, उद्यम एवं लगानी मैत्री, प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र सिर्जना गर्ने कुरामा म विश्वास गर्छु ।

राष्ट्रिय ढुकुटी ठुलो बनाउन उद्यम मैत्री दृष्टिकोण महत्त्वपूर्ण हुन्छ l ऐतिहासिक रूपमा सीमान्तकृत समूहहरूलाई माथि उकास्ने काम राष्ट्रिय आयले सहज बनाउँछ । बहिष्करणका मुद्दाहरूलाई बल्झाई राख्दा सामाजिक-राजनीतिक अस्थिरताको जोखिम हुन्छ, जसले उत्पादनको प्राथमिक उद्देश्यलाई खतरामा पार्छ । जोखिम लिन सक्ने गतिशील निजी क्षेत्रबाट सञ्चालित जीवन्त अर्थतन्त्र बिना सङ्घीय शासनका प्रयोगहरू टिकाइ राख्न पनि गाह्रो हुन्छ । 

नेपालको स्थायी चुनौती भनेको कम लगानी र कमजोर प्रतिफलसँगै जकडिएको प्रणालीगत अक्षमताको दुष्चक्रमा फसेको आर्थिक गतिहीनता हो । सुस्त अर्थतन्त्रमा महँगो राजनीतिक अभ्यासले भ्रष्टाचारलाई प्रोत्साहन गर्छ, जसले आर्थिक वृद्धिलाई दिगो बनाउने प्रयासमा बाधा पुर्‍याउँछ । म शासन व्यवस्था परिवर्तनको वकालत गरिरहेको छैन, तर राजनीति, कर्मचारीतन्त्र र निजी क्षेत्रमा विद्यमान प्रोत्साहनात्मक उत्प्रेरणाको संरचनालाई परिमार्जन गरी आमुल परिवर्तन ल्याउने कुरामा म दृढ विश्वास गर्छु । वृद्धिका लागि प्रोत्साहनहरू मिलाउन र सुशासनको आधारशिला खडा गर्न सार्वजनिक र निजी संस्थाहरूमा गहिरा सुधारहरु आवश्यक छन् । 

लामो समयदेखि समग्र मानव विकासको अध्येयता भएको हुनाले म लोककल्याणको मापकको रूपमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) का सीमा र जोखिमहरूलाई स्वीकार्छु । तर म के मान्छु भने -- अमर्त्य सेनको शब्दमा – “मानिसहरु स्वयंले चाहेको जीवन छान्न र बिताउन” आवश्यक क्षमता अभिवृद्धि गर्न अर्थतन्त्र दिगो रूपमा बढ्दै जानु पर्छ । क्षमता अभिवृद्धिमा लगानी गरी मानिसहरुको पूर्ण सम्भावनाको पोषण गर्नु नै सहि अर्थमा विकास हो । दिइएको कुरा निष्क्रिय रूपमा ग्रहण गर्नुको सट्टा मानिसहरू हाम्रो साझा लक्ष्यका सक्रिय योगदानकर्ता हुनुपर्दछ । तर्कसंगत क्रिया (एजेन्सी) को प्रयोगद्वारा मानव छनोटहरू वृद्धि गर्नु हाम्रो लक्ष्य हुनुपर्दछ । 

हालैका दशकहरूमा नेपालले गरेको सामाजिक र राजनीतिक प्रगतिमा म गर्व गर्छु । हामी दक्षिण एसियामा सबैभन्दा खुला, बहुलवादी र स्वतन्त्र समाज मध्येमा पर्छौं । तर आर्थिक रूपमा हामी पछाडि परेका छौं । एक पुस्ता भित्र संरचनात्मक रूपान्तरण गर्न न्यूनतम ७ प्रतिशत वार्षिक वृद्धि गरी प्रत्येक दशकमा वास्तविक जीडीपी दोब्बर गर्ने लक्ष्य राख्नुपर्छ । औद्योगिक क्रान्तिपछि २०० वर्षमा पश्चिमा देशहरुले सुस्त गतिमा यो हासिल गरेका भए पनि धेरै एसियाली राष्ट्रका हालैका सफलता हाम्रो लागि प्रेरणा हुन सक्छन् । तिनीहरूका उपलब्धिहरू आधा मात्र दोहोर्याउन सक्यौं भने पनि हामीले आगामी दुई दशकमा ठुलो प्रगति गर्न सक्छौं । करिब दुई दशकपछि हाम्रो जनसांख्यिकीय लाभ घट्नेछ किनभने नेपाल वृद्धावस्था-उन्मुख समाजबाट वृद्ध समाजमा परिवर्तन हुनेछ र जलवायु जोखिमहरू बढ्नेछन् । समावेशी विकासको लागि हामीले वित्तीय र बाह्य असन्तुलनदेखि ऋण र सहुलियतपूर्ण विकास वित्तको गलत विनियोजन जस्ता अन्य आधारभूत कुराहरू पनि सच्याउन आवश्यक छ । हालैका दशकहरूमा हाम्रो अर्थतन्त्रको संरचना विप्रेषण (रेमिट्यान्स) मा गहिरोरूपमा निर्भर भएको छ । अर्थतन्त्रको आकारको सापेक्षमा उल्लेख्य जनसंख्या भएका देशहरु मध्ये नेपाल विश्वमा सबैभन्दा धेरै विप्रेषण भित्र्याउने मुलुक बनेको छ । यसले "डच डिजिज" लाई मलजल गरेको छ, जसले उत्पादनलाई अप्रतिस्पर्धी बनाउने, आयात निकै बढाउने र सीमित पूँजी सट्टा उद्यमहरूमा प्रयोग हुने प्रवृत्ति सिर्जना गरेको छ । 

उज्यालो भविष्य

डिजिटलाइजेशन, डिकार्बोनाइजेशन र दूरीको अन्त्यले ठुला नयाँ अवसरहरू ल्याउँदै छन् । स्वच्छ ऊर्जामा आधारित पुन:औद्योगीकीकरण, लामो अवधिको पर्यटन र उच्च मूल्यको कृषिले यी स्रोतहरूलाई थप बल प्रदान गर्नेछन् । हाम्रो दुर्गम, भूपरिवेष्ठित अवस्थितिले सम्भवतः हाम्रो सार्वभौमिकताको रक्षा गर्न मद्दत गरेको भए तापनि ऐतिहासिक रूपमा यो एक आर्थिक अवरोध थियो । तर २१औँ शताब्दीमा यस अवरोधलाई चिर्न सकिन्छ किनभने हामी ढुवानी-निर्भर उद्योगहरूबाट तुलनात्मक रूपमा वजन-कम उत्पादनतर्फ सर्दै छौं । यदि राम्रोसँग जोडिन सक्यौं भने विश्वका सबैभन्दा धेरै जनसंख्या भएका र द्रुत रूपमा अगाडि बढिरहेका अर्थतन्त्रहरू बीचको हाम्रो स्थान निकै लाभदायक हुन सक्छ । हामीले गर्न पर्ने कुरा भनेको हाम्रा डिजिटल, भौतिक र सामाजिक पूर्वाधारहरूको द्रुत विकास, र लगानीकर्ताहरूलाई हामी व्यापारको लागि खुला र तयार छौं भनी संकेत गर्नु हो । 

लाखौंलाई गरिबीबाट बाहिर निकाल्नु एक महान लक्ष्य हो । निरपेक्ष हिसाबमा हामीले उल्लेख्य प्रगति गरेका छौं, जुन विभिन्न सामाजिक सूचकहरूको सुधारमा स्पष्ट देख्न सकिन्छ । तर सापेक्षिक रूपमा गति र गुणस्तरको संकटबाट हामी ग्रस्त छौं । तीन दशकअघि मात्र लगभग समान राष्ट्रहरू भन्दा हामी धेरै पछाडि परेका छौं । हामीले अब उनीहरुलाई भेट्टाउन पर्छ । दृढ संकल्प र सुधारको गहिरो इच्छाले हामी हाम्रो प्यारो नेपाललाई आफ्नो र आफ्ना सन्ततिको लागि गौरव गर्न लायक बनाउन सक्छौं । 

केही चाखलाग्दा लेखहरु : 

  • Why Political Leaders are so unpopular now (FT)

  • Putin knows he made a mistake (FT)

  • तीन खर्बको हुन्डी र क्रिप्टोकरेन्सी कारोबार (नागरिक

  • San Francisco Tried to Build a $1.7M Toilet, it’s Still Not Done (NY Times)

  • Investing in America and Economic Strategy (Twitter)

  • बैंकविना नै कर्जा लिन र दिन सकिने ‘पीटूपी प्लेटफर्म’ को तयारीमा राष्ट्र बैंक (अनलाइनखबर)

  • गैरआवासीय नेपाली नागरिकता लिएकाले नेपाल आउँदा भिसा लगाउनु पर्ने  (बीबीसी नेपाली)

हालैका केही अन्तर्वार्ताहरू। सकेसम्म हेर्नु होला : 

  • पत्रकार ज्योति मल्होत्रासँग (भारत):  नेपाल किन परिवर्तनको भोको ? (YouTube)

  • उद्यमी तथा चिन्तक मुर्तजा जाफर्जीसँग (श्रीलंका):  म, नेपाल र विश्व (YouTube)

  • पडकास्टर सिसन बानियासँग (नेपाल) (YouTube)

  • ब्राउन युनिभर्सिटी (अमेरिका): विकास क्याच-अप र डेमोक्र्याटिक कन्सोलिडेशनका दुई चुनौती  (YouTube)

आगामी विषयहरू : 

१) गैर आवासीय नेपाली (एनआरएन) नागरिकता मुद्दा 

२) नेपालमा डिजिटलाइजेशनको लहर

आशा छ यस न्युजलेटरबारे तपाईंहरू म जत्तिकै उत्साहित हुनुहुन्छ । म कुन विषयमा लेखुँ भन्ने चाहनुहुन्छ, कृपया आफ्नो विचार वा सुझाव दिन नहिच्किचाउनु होला । तपाईंका सल्लाहहरू मेरो लागि धेरै मूल्यवान हुनेछन् ।

न्यानो स्नेहका साथ, 

स्वर्णिम